नेकपा दार्चुलाको अध्यक्षमा पावेल

दार्चुला ०१ भदौ : नेकपा दार्चुलाको अध्यक्षमा तत्कालिन नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक गणेश खत्री (पावेल) हुने निश्चित भएको छ । नेकपाका स्थायी समिति सदस्य द्वय भीमबहादुर रावल तथा लेखराज भट्ट र केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र लक्ष्मणदत्त जोशी सहितका नेताहरुले गरेको सिफारिसका आधारमा खत्रि अध्यक्ष हुने पक्का पक्की भएको पार्टी निकट स्रोतले जनाएको छ । 
२०५० साल देखी राजनितिमा सक्रिय रहेका खत्रीलाई नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी मिलेको हो । यस्तै दुई बामपन्थी पार्टी बीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सात नम्बर प्रदेशमा एकता प्रक्रियालाई अन्तिम रुप दिइदैछ । नेकपाले प्रदेशका सबै तहका संगठन इकाईहरुलाई पूर्णता दिने कार्य तीब्र बनाएको नेकपाले जनाएको छ । 
   सात नम्बर प्रदेशका नौ जिल्ला मध्ये पाँच जिल्लामा तत्कालीन नेकपा (एमाले) पक्षले र चार जिल्लाको तत्कालिन माओवादी केन्द्र पक्षले नेतृत्व पाउने भएका छन् । नेकपा स्रोतका अनुसार दार्चुला, डडेलधुरा, कञ्चनपुर र बझाङमा तत्कालिन माओवादी केन्द्र पक्षले जिल्लाको नेतृत्व लिने छन्, भने कैलाली, डोटी, अछाम, बाजुरा र बैतडीमा तत्कालिन एमाले पक्षले जिल्ला नेतृत्व लिने जनाइएको छ । 
   कैलालीमा एमालेका पुराना नेता दिनेशचन्द्र सुवेदी, डोटीमा चक्रबहादुर मल्ल र बैतडीमा सुरेन्द्र पाल नेकपाका जिल्ला अध्यक्ष बन्नेछन् । मल्ल र पाल तत्कालीन एमालेका बहालवाला जिल्ला अध्यक्ष हुन् । अछाममा कृष्णप्रसाद जैसी, बमबहादुर बिसी र कमल तिमिल्सिना मध्ये एक हुने चर्चा छ । त्यस्तै, कञ्चनपुरमा बीरबहादुर थापा पातल, बझाङमा मीनबहादुर कुँवर बिश्वास र डडेल्धुरा मानसिंह माल (क्रान्ति) अध्यक्ष हुने नेकपा स्रोतले जनाएको छ ।........
Comments