देशका विभिन्न स्थानमा माघे सक्रान्तिको मेला भर्नेको घुइँचो

 

मंगलबार, १ माघ, २०७५

news

काठमाडौं(जिल्ला ब्यूरो) । चितवन, नवलपरासी र तनहुँको संगम तीर्थस्थल देवघाटधाममा आज माघे सक्रान्तिको मेला भर्नेको घुइँचो लागेको छ ।

मेला भर्न बिहानदेखि नै देशका विभिन्न भागसहित भारतबाटसमेत हजारौं तीर्थालु देवघाट पुगेका छन् ।

यस्तै नेपालकै चार धाममध्येको एक रिडीको रुरुक्षेत्रमा पनि माघे सक्रान्तिको अवसरमा आज बिहानैदेखि कालीगण्डकीमा स्नान गरि पूजाआजा गर्नेहरुको भिड लागेको छ ।

माघे सक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु (रिडी) क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पूजाआजा गर्नेको लाम लागेको हो ।

सिन्धुलीको कमला र गौमती नदीकोे संगमस्थलमा अवस्थित ऐतिहासिक तथा पवित्र प्रशिद्व धार्मिक तिर्थस्थल कमलामाईस्थानमा पनि मकर सक्रान्ति मेला शुरु भएको छ ।

पवित्र कमला नदीमा स्थान गरी कमलामाईस्थानमा पूजा अर्चना गरी पाठी, परेवा, कुखुरा र हासको वली चढाएर भाकलसमेत पुरा गर्ने गरिन्छ ।

उता, इलामको माइबेनीमा पनि माघी मेला लागेको छ । इलाम नगरपालिकाको नामसालिङ्ग र गोदकको संगमस्थलका रुपमा रहेको माइ र जोगमाइ खोलाको दोभानमा मकर नुहाउने र खोलामा पूजा–आजा गर्नेको भीड लागेको हो ।

कपिलबस्तमा पनि धुमधामका साथ मकर संक्रान्ति मनाईदैछ । प्राचिन तौलेश्वरनाथ शिवजी मन्दिरमा खिचडी चढाउन शद्धालु भक्तजन पुगेका छन् ।

कपिलबस्तुको बाणगंगा नदी, लक्ष्मणघाट, रामघाट, कपिलधामलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ । 

Comments