जेष्ठ नागरिक, विद्यार्थी र एकल महिलालाई नगरबसमा ५० प्रतिशत छुट

दार्चुला वैशाख १९ गते : अबको एक हप्ता अर्थात वैशाखको अन्तिम साता संचालन को तयारीमा रहेको महाकाली नगरपालिकाको नगरबसमा जेष्ठ नागरिक, विद्यार्थी र एकल महिलालाई भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । महाकाली नगरपालिकाले नगरबासीलाई सेवा दिन हालसालै मात्र खरिद गरी भित्र्याएको नगरबसमा उनिहरुलाई ५० प्रतिशत सम्म छुट दिने व्यवस्था मिलाइएको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो । 
    नगरबसमा ५ वर्ष मुनिका बालबालिका तथा (क) वर्गको अपागंता भएका व्यत्तीलाई निशुल्क सेवा दिइने उहाले बताउनु भयो । बसमा यात्रा गर्दा  विद्यार्थी, जेष्ठ नागरिक र एकल महिलाहरुले अनिवार्य रुपमा परिचय पत्र बोक्नु पर्ने उहाले बताउनु भयो । नगरबस अबको एक हप्ता भित्रै नगरपालिकाको वडा नम्बर ४, ५,  ७, ८ हुँदै वडा नम्बर ९ को बेत सम्म संचालन गरिने नगर प्रमुख भट्टको भनाई छ । 
   नगरकार्यपालिकाले नगरबस संचालन तथा व्यवस्थापन कार्यविधि २०७५ पारित गरी बस संचालनको तयारी थालेको हो । नगरबस संचालनका लागी वडा नम्बर ३ का वडा अध्यक्ष पदम महर संयोजक रहने गरी ७ सदस्यीय नगरबस संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । नगरबस तत्काललाई पक्की सडक भएको नगरपालिकाको वडा नम्बर ४, ५, ७, ८ र ९ सम्म मात्रै संचालन गरिने नगरपालिकाले जनाएको छ । 
   यसैविच विहिबार नगरबस संचालन तथा व्यवस्थापन समितिको सरोकारवालाहरु संग बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बस छुट्ने समय तालिका निर्धारण तथा भादादर र व्यापारिक प्रयोजनका सामग्री वसारपसार सम्बन्धमा निर्णय गरिएको समितिका संयोजक पदम महरले जानकारी दिनुभयो । 
   बस बेतबाट विहान ५ः३० बजे खलंगा, विहान ७ः१५ बजे खलंगाबाट बेत, विहान ८ः३० बजे बेतबाट खलंगा, दिउसो १ बजे खलंगाबाट बेत, दिउसो २ः३० बजे बेतबाट खलंगा र वेलुकी ५ः३० बजे खलंगाबाट बेतका लागी बस छुट्ने उहाले बताउनु भयो । बसमा व्यापारिक प्रयोजनका सामग्री वसारपसार गर्न नपाईने निर्णय भएको उहाले बताउनु भयो ।  बसको भाडादर नेपाल सरकार यातायात व्यवस्था विभागबाट निर्धारण भए बमोजिम कायम गरिने उहाले बताउनु भयो । नेपाल सरकार यातायात व्यवस्था विभागले पक्की सडकमा प्रतिकिलोमिटर ३ रुपैयाका दरले भाडा लिने व्यवस्था गरेको छ । 
   नगरपालिकाले आइसर कम्पनीको ४० सिट क्षमता भएको बस ३९ लाखमा खरिद गरी नगरबासीहरुलाई सेवा दिने तयारी थालेको हो । नगरपालिकाका वडा नम्बर १, २, ३, का नगरबासीहरुलाई समेत सेवा दिन खलंगा दल्लेक सडक खण्डलाई स्तरोन्नती गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको नगरप्रमुख भट्टले जानकारी दिनुभयो । नगरबासीलाई सेवा दिने उद्देश्यले बस खरिद गरी संचालन गर्न लागिएको उहाले बताउनु भयो । 
   

Comments