३ दिने पुर्नताजगी तालिम सुरु

दार्चुला, जेठ १ गते : प्रारम्भिक तह पढाई सीप विकास सम्बन्धि आधारभुत तहका शिक्षकहरुका लागी ३ दिने पुर्नताजगी तालिम सुरु भएको छ । सामुदायिक ग्रामिण विकास समाज नेपालको आयोजनामा संचालन गरीएको तालिमको बुधबार महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । 
   प्रारम्भिक तह पढाई कार्यक्रम विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२ ले अगाडी सारेको एक राष्ट्रिय कार्यक्रम हो । यो कार्यक्रम विशेषगरी आधारभुत तह १–३ कक्षा सम्मका वालवालिकाहरुको पढाइ सीप विकास गर्ने उद्देश्यले संचालनमा आएको हो । प्रारम्भिक कक्षा पढाई कार्यक्रम जिल्लाका ९ वटै स्थानिय तहका दिवा खाजा कार्यक्रम लागु भएका १ सय ९१ वटा विद्यालयमा सञ्चालनमा रहेको कार्यक्रमका जिल्ला संयोजक मानसिंह कार्कीले जानकारी दिए ।
   सामुदायिक ग्रामिण विकास समाज नेपाल संस्था द्धारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्लाका दिवा खाजा लागु भएका १९१ विद्यालयमा संचालित छ । यो कार्यक्रम दार्चुलाको हकमा सन २०१५ देखी शैक्षिक गुणस्तर उकास्ने र गुणस्तरीय शिक्षाका निमित्त क्रियाशिल रहेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक तथा विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा  नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय, शिक्षा विकास तथा समन्वय एकाइ दार्चुला र स्थानिय तहहरुको सहकार्यमा सामुदायिक ग्रामिण समाज नेपाल दार्चुलाले संचालन गर्दै आएको छ । प्रारम्भिक तहका वालवालिकाको लागी पढाइ सीपको विकास तथा गुणस्तरीय पढाइ सामग्रीको प्रयोग, पढाइ सामग्रीको अधिकतम प्रयोग गरी शिक्षकलाई शिक्षण गर्न विभिन्न चरणका तालिम मार्फत उन्मुख गर्ने, वालवालिकाको पढाइ सीप विकासका लागी अभिभावक तथा समुदायलाई सहभागी गराइ शैक्षिक गुणस्तर उकास्ने कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ ।
 यस्तै गुणस्तरीय शिक्षाका लागी विद्यार्थी माझ नै शैक्षिक सामग्री पुग्ने तथा वालवालिकाको शैक्षिक स्तर वृद्धिका लागी विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षिय सम्बन्धले शिक्षाको गुणस्तर उकासिने कार्यक्रमले अपेक्षा राखेको छ । यस कार्यक्रमले हालसम्म जिल्लाका ४३२ जना शिक्षकहरुलाई दुई चरणमा गरी प्रारम्भिक तह पढाइ सीप विकास सम्बन्धि तालिम दिई सकेको छ । 
   तालिमको उद्घाटन सत्रमा बोल्दै महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले शैक्षिक नगरीको रुपमा नगरपालिकाले अघि सारेको अवधारणामा यस कार्यक्रमले थप टेवा पुग्ने बताउनु भयो । कार्यक्रम लागु भएका र लागु नभएका विद्यालयमा फरक हुनु पर्ने उहाको भनाइ थियो । साथै उहाले परीणाम देखीने गरी प्रगति गर्नुपर्ने बताए । जसका लागी विद्यालयका प्रद्यानाध्यापक पूर्ण रुपमा जिम्मेवार हुनु पर्नेमा उहाको जोड थियो । शिक्षाको गुणस्तर माथि उकाँस्नको लागी शिक्षकको मात्रै भुमिका नहुने भन्दै अभिभावकलाई समेत परिचालन गर्नुपर्ने बताए ।
तालिमको उद्घाटन सामुदायिक ग्रामिण समाज नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाको अध्यक्षता तथा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यतता एवं शिक्षा विकास समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्त, विश्व शिक्षा नेपालका कार्यक्रम संयोजक बबिता श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको हो । तालिममा महाकाली नगरपालिका वडा नम्बर १, २ र ३ का १५ ओटा विद्यालयका २७ जना शिक्षकहरुको सहभागीता रहेको थियो । तालिम जेठ ३ गते सम्म संचालन हुनेछ ।

Comments