शिविरमा ८ सय पशु चौपायालाई खोप तथा औषधी दिईयो

दार्चुला जेठ १९ गते : सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको मालिकार्जुन गाउँपालिकामा संचालन गरिएको दुई दिने पशु स्वास्थ्य शिविरमा १ सय २३ घरधुरीका ८ सय ३२ पशु चौपायाहरुलाई खोप तथा औषधी दिइएको छ । गाउँपालिकाको वडा नम्बर २ ठिङ र वडा नम्बर ६ को सलेती, स्यार उकुमा १÷१ दिन गरी दुई पशु स्वास्थ्य शिविर संचालन गरिएको गुड नेवर्स ईन्टरनेशनल दार्चुलाका लघु उद्यम विकास अधिकृत रमेश सुनारले जानकारी दिनुभयो । 

   गाउँपालिकाको वडा नम्बर  २ ठिङमा भगवती विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, गाउँपालिकाको प्राविधिक सहयोग, गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोगमा शिविर संचालन गरिएको हो, भने वडा नम्बर ६ सलेती स्यारमा दिप ज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शिविर संचालन गरिएको उहाले बताउनु भयो । शिविरमा १ सय २३ घरधुरीका ३ सय ८२ बाख्रा तथा ४ सय ५० गाई, भैसी, खच्चर, कुकुरहरुलाई खोप तथा औषधी दिइएको उहाले बताउनु भयो । 
   बाख्रामा लाग्ने बाह्य परजिवी नियन्त्रणका वडा नम्बर ६ को सलेती स्यारमा निर्माण सम्पन्न भएको डिपिङ ट्यांकी समेत संचालनमा ल्याइएको छ । औषधी मिश्रित ट्यांकीमा बाख्रा डुबाएर ट्यांकी संचालनमा ल्याइएको उहाले बताउनु भयो । शिविरमा बाजोपन, पशु बन्ध्याकरण, रुघाखोकी, लुतो, घाउहरुको उपचारका साथै विभिन्न प्रकारका जुका नियन्त्रण, खाना कम रुचाउने, दुधको मात्रामा बृद्धि, भ्यागुत्ते रोग, पेट फुल्न नियन्त्रण गर्ने तथा भिटामिनहरु वितरण गरिएको थियो । 
   डिपिङ ट्यांकीको माध्यमबाट बाख्रामा लाग्ने बाह्य परजिवि नियन्त्रण, महत्व र प्रयोग बारे पशु पालक कृषकहरुलाई जनचेतना जगाउने उद्देश्यले शिविर संचालन गरिएको उहाले बताउनु भयो । पशुहरुमा लाग्ने बाह्य परजिवि नियन्त्रणका लागि ६÷६ महिनामा शिविर संचालन गरिने उहाको भनाई छ । 

Comments