​महिलालाई आत्मनिर्भर बनाउन हाते होजियारी तालिम

दार्चुला जेठ २४ गते : महिलालाई सिप सिकाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ शुक्रबार जिल्ला सदरमुकाम खलंगामा ३० दिने हाते होजियारी सिप विकास तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । संधै चुलो चौको मै सिमित महिलाहरु सिप सिकेर आफ्नो खुट्टामा अभिन सकुन भन्ने हेतुले तालिमको आयोजना गरिएको आयोजक संस्था जिल्ला लघु उद्यमी समुह संघ (डि मेगा) का अध्यक्ष महेश नाथले बताउनु भयो । 
   तालिम संचालनका लागी महाकाली नगरपालिकाले आर्थिक सहयोग गरेको उहाले बताउनु भयो । महिलाहरुलाई उद्यमीको रुपमा उत्पादन गरी उनिहरुको आर्थिक अवस्थालाई बलियो बनाउन तालिमको आयोजना गरिएको अध्यक्ष नाथले बताउनु भयो । तालिममा महाकाली नगरपालिका वडा नम्बर ४ र ५ का १० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका बरिष्ठ उद्योग विकास अधिकृत पदमबहादुर ठकुराठीले सिप सिक्नु ठुलो कुरा नभएको बताउनु भएको छ । 

                 
   सिकेको सिपलाई व्यवहारमा लागु गरेर आम्दानी गर्न सके मात्रै राज्यले गरेको लगानीको प्रतिफल प्राप्त हुने उहाले बताउनु भयो । हाते होजियारी तालिमका लागी ३० दिनको समय प्रयाप्त नभएको भन्दै ठकुराठीले कम्तीमा पनि ९० दिनको हुनु पर्ने धारणा राख्नु भयो । कार्यक्रमका प्रमुख अतिथि महाकाली वडा नम्बर ५ का वडा सदस्य गोकर्ण देव बडूले सिकेको सिपलाई बजारमा बेचेर प्रतिफल निकाल्न महिलाहरुलाई सुझाव दिनुभयो । 
   जिल्ला लघु उद्यमी समुह संघ (डि मेगा) का अध्यक्ष महेश नाथले आफुले सिकेको सिप कसैले चोर्न नसक्ने भन्दै सिप सिकेर स्वरोजगार बन्नु ठुलो कुरा भएको बताउनु भएको छ । साथै उहाले तालिम संचालनका लागी आर्थिक सहयोग गर्ने महाकाली नगरपालिकालाई धन्यवाद समेत दिनुभएको छ । साथै उहाले तालिममा सहभागी महिलाहरुलाई मेहिनेतका साथ सिप सिकेर आत्मनिर्भर बन्न समेत शुभकामना दिनु भएको छ । तालिम पस्चात सहभागी महिलाहरुलाई बुनाई मेसिन उपलब्ध गराइने जनाइएको छ । तालिममा स्वीटर, स्काप, मोजा, टोपी बुन्न सिकाईने छ । तालिम प्रशिक्षण स्थानिय महिला चम्पा कुवरले गर्नु हुने बताइएको छ । 

 

Comments