​धौलीगंगा बाँध आज राती देखी खोलिने

दार्चुला असार ११ गते : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला धारचुला ग्रामसभा अन्र्तगत पर्ने छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध असार ११ गते अर्थात आज राती १२ बजे देखी खोलिने भएको छ । धौलीगंगा जलविद्युत परियोजना धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार ११ गते राती १२ बजेदेखि असार १२ गते बेलुका ६ ः४५ बजेसम्म सिल्ट फ्लशिंगको कार्यका लागी बाँध खोलिन लागेको पत्रमार्फत जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।
   ड्याम साइटमा गरिने सिल्ट फ्लशिंगका लागी बाँध खोलिने हुँदा महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै ब्याँस गाउँपालिकाको वडा नम्बर ५ धौलाकोट देखी लेकम गाउँपालिकाको लाली सम्मका नागरिकलाई नदि किनारमा नजान तथा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सुचना प्रकाशन गरी आग्रह गरेको छ ।
   बाँध असार ११ गते राती १२ बजे देखी असार १२ गते बेलुका ६ ः ४५ बजेसम्म १८ घण्टाका लागी बाँध खोलिने परियोजनाले जनाएको छ । परियोजनाले बाधँ बेलाबेलामा सरसफाइ गर्ने गरेको छ । २८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाधँ खोलिने बारे पछिल्लो समय भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पुर्वसतर्कता अपनाउन सजिलो भएको स्थानियले बताएका छन् । २०७० साल असार २ र ३ गते धौलीगंगा परियोजनाको बाँध खोलिएका कारण दार्चुला सरमुकामका सयौ घर बगाउनुका साथै स्थानियको धनमाल समेत बगेको थियो ।

Comments