​नगर प्रमुख भट्ट आफै खटिए उद्धारमा

दार्चुला असार २६ गते : महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट नगरपालिकाको वडा नम्बर ९ मा बुधबार राती आएको पहिरोको व्यवस्थापन तथा पहिरो प्रभावित परिवारको उद्धार गर्न आफै खटिनु भएको छ । नगर प्रमुख भट्टले जिल्ला सदरमुकाम खलंगाबाट ग्याभिन जाली टेन्ट दत्तु पुर्याएर प्रभावित परिवारको व्यवस्थापन तथा पहिरोको रोकथामका लागी कार्य गरिरहनु भएको छ । विहीबार विहानै देखी सो क्षेत्रमा खटिनु भएका नगर प्रमुख भट्टले प्रभावित परिवारहरु संग भेटघाट गरि सहानुभुती दिलाउनुका साथै उनिहरुको उचित व्यवस्थापन गर्नका लागी पहल गरिरहनु भएको छ । 

                                                                         
   पहिरो रोकथामका लागी निर्माणाधिन दत्तु‐थाप्ला सडक छेउमा नाली बनाएर बस्तीमा बग्ने पानी खोलामा फाल्ने कार्य भैइरहेको नगर प्रमुख भट्टका स्वकिय सचिव भुवन जोशीले जानकारी दिनुभयो । पहिरो प्रभावित परिवारहरुलाई २१ थान टेन्ट वितरण गरिएको छ । गाईबस्तु तथा मालसमानको उचित व्यवस्थापन गर्न टेन्ट वितरण गरिएको उहाले बताउनु भयो । बुधबार राती अविरल वर्षा भएका कारण निर्माणाधिन दत्तु–थाप्ला सडक खण्डमा जम्मा भएको माटो पानीले बगाए पछि पहिरोको रुप लिदै दत्तु बस्तीमा पसेको थियो । पहिरो बस्तीमा पसेपछि २१ वटा घरधुरीहरु जोखिममा परेका हुन् ।

                                                                         
   २१ घरधुरी मध्ये स्थानिय विशन सिंह गोयला, त्रिलोक सिंह चौसिर, धन सिंह भाट र हरिना देवी भाटको घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसैगरी दत्तुकै स्थानिय राजेन्द्र नगारी, प्रेमसिह धामी, राजेन्द्र नगारी, भुवन भाट, गोरख सिंह भाट लगायत एक दर्जन परिवारको घर न्युन जोखिममा रहेका प्रहरीले जनाएको छ । निर्माणाधिन दत्तु–थाप्ला सडक निर्माणका क्रममा स्थानियले सडक निर्माणका लागी उपयुक्त हुने जग्गा उपलब्ध नगराएका कारण यस्तो समस्या सिर्जना भएको बुझिएको छ । 

 
  निर्माणाधिन दत्तु–थाप्ला सडकखण्डबाट पानीले माटो बगाउदा महाकाली लोकमार्ग सम्म पुगेको छ । अविरल वर्षाका कारण माटो स्थानियको खेतमा आए पछि मकैबाली तथा धान पुरीएको छ । केहि घरहरुको गोठमा माटो सहितको पानी जमेको प्रहरीले जनाएको छ । पहिरोका कारण अन्य कुनै प्रकारको अप्रिय घट्ना नभएको प्रहरीको भनाई छ । बस्तीमा पहिरो गएको थाहा पाउने वित्तिकै महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट, प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, सुरक्षा निकायका प्रमुखहरुको टोलीले विहानै स्थलगत अनुगमन गरि पहिरो तथा प्रभावित परिवारको उचित व्यवस्थापनका लागी पहल चाल्नु भएको थियो ।  पहिरो बस्तीमा पस्न नदिन महाकाली नगरपालिकाको जेसिविले निर्माणाधिन सडक खण्डमा नाली बनाउने कार्य गरिरहेको नगरपालिकाले जनाएको छ । 

Comments