दिपककी श्रीमती नन्दा द्धारा न्यायको माग

दार्चुला साउन ३० गते : चरीबाघको छाला सहित साउन २४ गते बेलुका प्रहरीले पक्राउ गरेका दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका २९ वर्षिय दिपक बडालकी श्रीमती नन्दा बडालले आफ्नो श्रीमान निर्दोष भएको भन्दै न्यायको माग गरेकी छन् । विहीबार जिल्ला सदरमुकाम खलंगा आएर उनकी श्रीमती नन्दाले मिडिया मार्फत प्रहरीले प्रक्राउ गरेका आफ्ना श्रीमान निर्दोष भएको बताएकी छन् । आफ्ना निर्दोष श्रीमानलाई विभिन्न बाहाना पारी फसाउन खोजेको भन्दै निष्पक्ष न्यायको माग गर्दै मिडियामा आएकी हुन् । 

   साउन २४ गते दिपक र हिकिलाकै पुष्पराज जोशी जिल्ला सदरमुकाम खलंगा आउदै गर्दा गाउँपालिकाको वडा नम्बर ३ ब्रहमदेव प्रहरी चौकीको चेक पोइन्ट नजिक पुग्दा पुष्पराज जोशीले आफु संग रहेको झोला दिपक बडाललाई बोक्न आग्रह गरेका थिए । उक्त झोलामा चरीबाघको छाला भएका कारण पुष्पराजले दिपकलाई बोक्न दिएको खुल्न आएको छ । चेकजाचको क्रममा दिपकको साथमा रहेको झोला भित्र चरीबाघको छाला भेट्टीदा दिपकले प्रहरीलाई पुष्पराजको झोला हो मेरो होइन भन्दा भन्दै पुष्पराजलाई पक्राउ नगरी भगाएको आरोप छ । 
पुष्पराजलाई प्रहरीले घट्ना स्थलबाट भगाउनु तथा खलंगामा पक्राउ परी सके पछि पनि भगाउनु प्रहरी र पुष्पराज बिचको मिलेमतो रहेको दिपककी श्रीमती नन्दाले गम्भिर आरोप लगाउनु भएको छ । पुष्पराजको झोला हो मलाई यो बारे केहि थाहा नभएको बताए पनि प्रहरीले आफ्नो श्रीमानलाई पक्राउ गरेको नन्दाको आरोप छ । पुष्पराजले आफ्नो श्रीमानलाई जानी जानी फसाउनको लागी झोला बोक्न लगाएको समेत उनकी श्रीमतीले आरोप लगाएकी छन् । पुष्पराजलाई प्रहरीले खलंगामा पक्राउ गरेको सिसिटिभि फुटेजमा देखिएको छ । मुख्य नाइकेका रुपमा संलग्न पुष्पराजलाई सोधपुछ नै नगरी छोड्नु प्रहरीको ठुलो कमजोरी भएको उनको आरोप छ । 
   उक्त कार्यमा संलग्न रहेको आरोपमा पुष्पराज जोशीलाई प्रक्राउ गरी उनि माथी समेत अनुसन्धान गर्न अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले बुधबार जिल्ला प्रहरी कार्यालयलाई चिठ्ठी पठाइएको निमित्त संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रेम खड्काका अनुसार घट्नाको अनुसन्धान तथा बयान अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले गर्ने जनाइएको छ । घट्नामा संलग्न रहेका पुष्पराज जोशीको खोजीकार्य भैइरहेको उहाले बताउनु भयो । 

Comments