दार्चुलामा एचआइभी संक्रमितहरुको संख्या बढ्दो ः ३७ जना ग्रसित

दार्चुला, मंसिर १६ गते : दार्चुलामा एचआइभी संक्रमितहरुको संख्या बढदै गइरहेको छ । हाल जिल्ला अस्पतालबाट ३७ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । सेवा लिनेहरु मध्ये १८ जना पुरुष, १९ जना महिला र ३ जना १५ वर्ष मुनिका वालवालिका रहेका छन् । यस्तै जिल्लाका २ जना पुरुष र २ महिला गरी ४ जना संक्रमितले  जिल्ला बाहिर अर्थात कैलाली र कञ्चनपुरबाट एआरटी सेवा लिइरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय स्रोतका अनुसार दार्चुलामा एभआइभी संक्रमितहरुको संख्या ३७ जना रहेकोमा हाल सम्ममा ४ जनाको एचआइभी एड्सकै कारण मृत्यु भइसकेको छ ।

गत वर्ष दार्चुलामा ३३ जना संक्रमित रहेकोमा यस वर्ष ४ जना थपिएका हुन् । जिल्लाको लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा समान ९ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक छ । यस्तै महाकाली नगरपालिकामा ७ जना, मालिकार्जुन गाउँपालिकामा ८ जना, मार्मा गाउँपालिकामा ३ जना र दुहु गाउँपालिकाका १ जनामा एड्स देखिएको छ । संक्रमितहरु स्वास्थ्य संस्था खुलेरै नआउने भएकाले जिल्लाको यकीन तथ्यांक भने भन्न नसकिने कार्यालय प्रमुख भट्टले बताए । साथै संक्रमितहरुलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको तथा काम गर्न पनि समस्या भएको उहाको भनाई छ । दार्चुलामा संक्रमितहरुको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको जानकारहरु बताउँछन् । भारतसंग सीमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन बढेको हो । संक्रमितहरु समाजमा बदनाम हुने डरले खुल्न नसक्दा एड्सको जोखिम झन बढेकाले संक्रमितहरुलाई पनि अन्य सरह व्यवहार गर्ने वातावरण बनाउनु आवश्यक भएको भट्टको भनाई छ ।

दार्चुलामा रहेका सयौं संक्रमितहरु विभिन्न कारण खुल्न नसक्दा दार्चुलामा एचआइभी नियन्त्रण चुनौती बन्दै गएको छ । एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाकालागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो । विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइन्छ । मुख्यतया सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाबाट छिमेकी मुलुक भारत तथा बैदेशिक रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किएका हुन्छन् । अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको छ । हाल विश्वमा ३ करोड ३९ लाख मानिस एचआईभी सङ्क्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको हो । 

Comments